काठमाडौँ — चितवनमा दशौँ अन्तर्राष्ट्रिय उद्योग प्रदर्शनी चैत २७ गतेदेखि सुरु भएर २९ गतेसम्म सञ्चालन हुने भएको छ। प्रदर्शनी चितवन उद्योग सङ्घको आयोजनामा हुने छ र आज सङ्घले पत्रकार सम्मेलनमार्फत यसको विवरण सार्वजनिक गरेको हो।
सङ्घका अध्यक्ष मदन घिमिरेका अनुसार, प्रदर्शनीले नेपालका उद्योगहरूको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगका लागि उपयोगी मेसिन र प्रविधि, हस्तकला, गार्मेन्ट, निर्माण सामग्री, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि र ऊर्जासम्बन्धी उत्पादन प्रदर्शन गरिनेछ। सातवटै प्रदेशका स्टलहरू रहने यो प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रका प्रविधि तथा मेसिनरी स्टल र “मेक इन नेपाल” अभियानमा आबद्ध उद्योगसमेत सहभागी हुनेछन्।
एक सय स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी र व्यवसायीको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार नेपालमा उत्पादित सामग्रीहरू भारत, इथोपिया, श्रीलंका जस्ता देशमा पुगिसकेको हुँदा प्रदर्शनीले उत्पादित वस्तुहरूको बजारीकरणमा पनि सहयोग पुर्याउनेछ।
त्यसैगरी, प्रदर्शनीका क्रममा नेपालका वर्तमान औद्योगिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति तथा समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्ने विषयमा छलफल हुने बताइएको छ।
