काठमाडौँ — इरानको इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। फर्स समाचार एजेन्सी र नूर न्यूजका अनुसार स्थानीय समयअनुसार बिहानै एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको हो।
आक्रमणपछि क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। घटनाको उद्देश्य र जिम्मेवार पक्षबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। इजरायल र संयुक्त राज्य अमेरिकाले समेत यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आपत्कालीन सेवा परिचालन गरिएको छ भने स्थानीय प्रशासन, सुरक्षा बल र स्वास्थ्यकर्मीहरू खोज तथा राहत कार्यमा खटिएका छन्।
विशेषज्ञहरूका अनुसार आवासीय क्षेत्रमा लक्षित हवाई आक्रमण अन्तर्राष्ट्रिय मानवअधिकार र युद्धसम्बन्धी कानुनको दृष्टिले अत्यन्त संवेदनशील विषय हो। यस्तो हमलाले नागरिकमा दीर्घकालीन सामाजिक तथा मनोवैज्ञानिक असर पार्न सक्ने चेतावनी दिइएको छ।
यो घटना डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः सञ्चालन नभए कडा कदम चाल्ने चेतावनी दिएको केही घण्टापछि भएको हो। यसले मध्यपूर्वमा तनाव झन् बढाउने संकेत गरेको विश्लेषण गरिएको छ।
