काठमाडौँ — शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क तथा निर्देशिकाले तोकेको बाहेकका अन्य शुल्क फिर्ता गराउन देशभरका सबै पालिकालाई निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन र शुल्क निर्धारण मापदण्ड विपरीत कुनै पनि अतिरिक्त शुल्क नलिन स्पष्ट निर्देशन दिइएको छ। यदि गैरकानुनी रूपमा शुल्क असुलिएको पाइए फिर्ता नगर्ने विद्यालयमाथि कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
त्यसैगरी, नयाँ शैक्षिक सत्र सुरु हुनुअघि भर्ना नगर्न दिएको सर्वोच्च अदालतको आदेशको पूर्ण कार्यान्वयन गर्न पनि मन्त्रालयले जोड दिएको छ। गत शुक्रबार जारी आदेशको उल्लङ्घन गर्दै अग्रिम भर्ना लिने कार्य दण्डनीय हुनेतर्फ मन्त्रालयले सरोकारवालालाई सचेत गराएको छ।
आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तय भएको छ।
