काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा सूचीकृत गरिएको हो।
कालोसूचीमा पर्ने कम्पनीहरूमा श्री लोक निर्माण सेवा तथा सप्लायर्स (रोल्पा), सिल्क मार्केट प्रालि (काठमाडौँ), ब्रोदर्श कन्स्ट्रक्सन (महोत्तरी), देवु निर्माण सेवा (गोरखा) र अर्भान कन्स्ट्रक्सन (चितवन) रहेका छन्। त्यसैगरी सूर्य दीप छापाखाना (काठमाडौँ), धुलिखेल निर्माण सेवा (काठमाडौँ) र हिमशिखा कन्स्ट्रक्सन प्रा.लि (रुपन्देही) पनि कालोसूचीमा परेका छन्।
कार्यालयका अनुसार जिम्मा लिएको काम तोकिएको समयमै सम्पन्न नगरेका कारण सार्वजनिक खरिद ऐन बमोजिम ती कम्पनीमाथि कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाइने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
