काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘सर्प्राइज चेकिङ’का क्रममा १२ जना चालक मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदै गरेको अवस्थामा पक्राउ परेका छन्। यात्रु तथा विद्यार्थी बोकेर हिँड्ने जस्ता संवेदनशील जिम्मेवारी भएका चालकहरू नै नशामा सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उनीहरूमाथि कडा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
बिहानै गरिएको चेकिङमा कारबाहीमा पर्नेहरूमा सार्वजनिक र शैक्षिक संस्थाका सवारी चालकको अवस्था झन् चिन्ताजनक देखिएको छ। पक्राउ पर्नेमा दुईवटा यात्रुवाहक बस, एउटा विद्यालय बस, दुईवटा मिनी ट्रक, एउटा सुमो, एउटा माइक्रोबस र एउटा टेम्पोका चालक रहेका छन्।
त्यसैगरी, एउटा पर्यटक भ्यान र तीनवटा निजी कारका चालकले पनि मापसे गरेर सवारी चलाएको पुष्टि भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। बिहान विद्यालय जाने बालबालिका र काममा निस्कने यात्रुको सुरक्षालाई बेवास्ता गर्दै चालकहरूले यस्तो लापरबाही गरेको पाइएको छ।
