विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्। उनले अर्का प्रत्यासी नवीन रिजाल लाई ८४ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व सुनिश्चित गरेका हुन्।
आइतबार राति विराटनगरमा सम्पन्न महासंघको ८औँ प्रदेशसभामा राउतले १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत पाए। तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत निर्विरोध अध्यक्ष बनेका थिए।
वस्तुगत, जिल्ला–नगर र एसोसिएट्स गरी विभिन्न समूहमा भएको मतदानमा राउतले स्पष्ट बहुमत हासिल गरेका थिए।
महासंघका अन्य पदाधिकारी भने निर्विरोध चयन भएका छन्। जिल्ला–नगर उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। जिल्ला–नगर र वस्तुगत समूहबाट अन्य सदस्यहरू पनि चयन भएका छन्।
राउत व्यवसायिक संगठनका संस्थापक सदस्यसमेत हुन् र उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माणको काम अघि बढिरहेको बताइएको छ।
