कैलाली । कैलालीको गेटामा निर्माण भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब सञ्चालन हुने सम्भावना बढेको छ। नयाँ सरकार गठनसँगै लामो समयदेखि अलमलमा रहेको यो महत्वाकांक्षी परियोजना अघि बढ्ने संकेत देखिएको हो।
विश्वविद्यालय सञ्चालनका लागि तत्काल करिब २ अर्ब ५८ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ। करिब ६ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यो विश्वविद्यालय लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो।
५१ हेक्टर क्षेत्रफलमा फैलिएको ४२ वटा आधुनिक संरचना तयार भए पनि हालसम्म न त पठनपाठन सुरु भएको छ, न त स्वास्थ्य सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। अब आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चिकित्सा शिक्षा सुरु गर्ने तयारी भइरहेको छ।
प्रारम्भिक चरणमा ५० जना विद्यार्थी भर्ना गर्ने योजना रहेको छ। विश्वविद्यालय सञ्चालनसँगै सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई समेत आबद्ध गर्ने तयारी गरिएको छ।
नयाँ सरकारले आवश्यक बजेट तथा कानुनी प्रक्रिया अघि बढाएपछि विश्वविद्यालय सञ्चालन सहज हुने अपेक्षा गरिएको छ। यद्यपि विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको कारण कानुनी प्रक्रिया भने मुख्य चुनौती बनेको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार चार वटा संकायबाट पठनपाठन सुरु गर्ने तयारी भइरहेको छ।
यता, विश्वविद्यालय सभाको बैठक पहिलोपटक विश्वविद्यालय परिसरमै चैत २५ गते बिहान ९ बजे बस्ने भएको छ, जहाँ नियमावली, आर्थिक तथा खरिद प्रक्रियासम्बन्धी विषयमा छलफल हुनेछ।
स्थानीय स्तरमा विश्वविद्यालय सञ्चालनको खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ।
