चितवन । चितवनमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको संक्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सबैभन्दा धेरै केस भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ १३ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी कालिका नगरपालिकामा ४ जना र माडी नगरपालिकामा १ जनामा कुष्ठ रोग भेटिएको छ। संक्रमितमध्ये १० पुरुष र ८ महिला रहेका छन्।
गत आर्थिक वर्षमा चितवनमा कुल ४३ जनामा यो रोग देखिएको थियो, जसमा २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका बालबालिका रहेका थिए।
कुष्ठ रोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म जीवाणुबाट हुने सरुवा रोग हो। प्रारम्भिक अवस्थामा शरीरमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखिने प्रमुख लक्षण हुने चिकित्सकहरूले बताएका छन्।
अनुहार तथा कानको लोतीमा गिर्खा आउनु, छाला बाक्लो हुनु, आँखीभौँ झर्नु, हातखुट्टा झमझम गर्नु तथा स्नायु सुन्निनु यसका अन्य लक्षण हुन्। समयमै उपचार नभए अपाङ्गता हुने जोखिम पनि रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
विशेषज्ञका अनुसार कुष्ठ रोग दुई प्रकारका हुन्छन्— बढी किटाणु भएको (एमबी) र कम किटाणु भएको (पीबी)। एमबी प्रकारका बिरामीले १२ महिना र पीबी प्रकारका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ।
