कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूले ‘विद्यालय सेवा शुल्क’का नाममा विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ। बालविकासदेखि नै नयाँ विद्यार्थी भर्ना गर्दा विभिन्न शीर्षकमा शुल्क लिने गरिएको अभिभावकहरूले बताएका छन्।
गाउँपालिकाका अधिकांश विद्यालयले कक्षा ६ देखि ‘अभिभावक सेवा शुल्क’ भन्दै मासिक शुल्क लिने गरेका छन् भने कक्षा ९ र माथिल्लो तह सञ्चालन भएका विद्यालयले पनि नियमित शुल्क असुल्दै आएका छन्।
जानकी–९ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्रराज ओझाले पहिलो पटक भर्ना हुँदा शुल्क लिने र कक्षा ६ देखि मासिक शुल्क उठाउने गरिएको स्वीकार गरेका छन्। उनका अनुसार गाउँपालिकाको अनुदानले मात्र शिक्षक व्यवस्थापन नहुने भएकाले अतिरिक्त स्रोतका रूपमा शुल्क लिनु परेको हो।
तर नेपालको संविधानको धारा ३१ ले कक्षा ८ सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था गरेको छ। सो व्यवस्था विपरीत शुल्क उठाइएको भन्दै प्रश्न उठेको छ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने विद्यालयले विद्यार्थीबाट शुल्क लिएको विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताएका छन्।
गाउँपालिकामा ३३ वटा सामुदायिक विद्यालय छन्, जहाँ ४७ जना शिक्षक स्थानीय अनुदानबाट व्यवस्थापन गरिएका छन्। गाउँपालिकाले प्रावि तहका शिक्षकलाई मासिक ९ हजार, निमाविलाई ११ हजार र माविलाई १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले विद्यालयले शुल्क उठाएको विषय मौखिक रूपमा सुन्नमा आए पनि आधिकारिक उजुरी नआएको बताएका छन्। उनले कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक संख्या बढी रहेको अवस्था पनि रहेको उल्लेख गरे।
