काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले गृहमन्त्रीमाथि नैतिक प्रश्न उठाउँदै फेवाताल किनारको कथित जग्गा प्रकरणबारे तत्काल स्पष्टिकरण दिन आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टमा साम्पाङले सुदन गुरुङ को नाममा पोखराको फेवाताल किनारमा २० रोपनी जग्गा रहेको चर्चाप्रति आपत्ति जनाउँदै यसले आफूलाई असहज बनाएको बताएका छन्। उनले गृहमन्त्रीलाई पत्रकार सम्मेलनमार्फत सत्य–तथ्य सार्वजनिक गर्न सुझाव दिएका छन्।
साम्पाङले यस्ता गम्भीर आरोपको जवाफ नदिए जनताले विश्वास गुमाउने र सुरक्षा निकायमाथि पनि प्रश्न उठ्ने चेतावनी दिएका छन्। आफू प्रतिपक्षी भूमिकामा रहेकाले नैतिक जिम्मेवारीका आधारमा प्रश्न उठाएको उनको भनाइ छ।
उनले गृहमन्त्रीले हालै गरेका केही कामहरूको प्रशंसा पनि गरेका छन्। विशेषगरी पछिल्ला आन्दोलनका दोषीहरूलाई पक्राउ गरेको विषयलाई सकारात्मक भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति संकेत गर्दै काम गर्ने नेतामाथि अनावश्यक आरोप लाग्ने प्रवृत्ति भए पनि यस्तो विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन्।
