काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) रिटमाथि आज पनि सर्वोच्च अदालत मा निरन्तर सुनुवाइ हुने भएको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सो दिन दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सम्पन्न गरेका छन्।
आजको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालय का तर्फबाट सरकारी वकिलहरूले बहस प्रस्तुत गर्नेछन्।
सरकारले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते दुवै जनालाई पक्राउ गरिएको थियो। आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनमा उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।
पक्राउपछि चैत १५ गते ओलीका तर्फबाट राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अबको सुनुवाइले उनीहरूको हिरासत कानुनी रूपमा उचित छ वा छैन भन्ने विषयमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।
