गुल्मी । सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी ले बिचौलिया गतिविधि र कर्मचारीको ढिलासुस्तीविरुद्ध कडा कदम चाल्ने भएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले सूचना जारी गर्दै सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा बिचौलिया प्रयोग गर्न वा गराउन पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पार्नुभएको छ।
उहाँका अनुसार कसैले बिचौलिया प्रकृतिका गतिविधि गरेको पाइएमा त्यस्ता व्यक्तिसँगै सेवाग्राहीलाई अनावश्यक दुःख दिने वा अतिरिक्त लाभ लिन खोज्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
सूचनामा सार्वजनिक सेवाहरूलाई सहज, छिटो, छरितो र प्रभावकारी बनाउन नियमित समीक्षा, कार्यालयहरूको अनुगमन, समन्वय तथा सहजीकरणलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ।
प्रशासनले सेवाग्राहीलाई सचेत गराउँदै ‘छिटो काम गराइदिन्छु’ भन्दै आर्थिक वा अन्य लाभ लिन खोज्ने व्यक्ति तथा कर्मचारीलाई प्रभावमा पार्न खोज्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। यस्ता कार्य भएको जानकारी पाएमा तत्काल प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न भनिएको छ।
त्यसैगरी, कुनै कार्यालयका कर्मचारीले तोकिएको शुल्कभन्दा बढी रकम मागेमा, आवश्यक कागजात हुँदाहुँदै पनि सेवा दिन ढिलासुस्ती गरेमा वा आनाकानी गरेमा प्रमाणसहित उजुरी दिन प्रशासनले आग्रह गरेको छ।
प्रशासनका अनुसार यस्तो निगरानी र कारबाही प्रक्रियाले सेवाप्रवाहलाई थप पारदर्शी बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सेवाग्राहीको विश्वास बढाउने अपेक्षा गरिएको छ।
