भक्तपुर । बिस्केट जात्रालाई लक्षित गर्दै शान्तिसुरक्षा कडा बनाउन जिल्ला प्रहरी परिसर भक्तपुर ले सञ्चालन गरेको स्वीप अपरेसनमा ९० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
परिसरका प्रमुख सूर्यबहादुर खड्का का अनुसार शनिबार ६० जना र आइतबार ३० जना गरी कुल ९० जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधि, शंकास्पद व्यवहार, लागुऔषध सेवन, समूहमा बसेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै अपरेसन सञ्चालन गरेको जनाएको छ।
यसका लागि परिसरअन्तर्गत रहेका प्रहरी वृत्त, प्रहरी प्रभाग तथा अन्य युनिटहरूलाई परिचालन गरिएको खड्काले जानकारी दिए। पक्राउ परेकामध्ये आपराधिक गतिविधिमा संलग्न नभएको पुष्टि भएमा आवश्यक अनुसन्धानपछि रिहा गरिने उनले बताए।
प्रहरीले यस्तो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेको छ।
विशेषगरी बिस्केट जात्रा नजिकिँदै गर्दा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन यो अभियान सुरु गरिएको हो।
प्रहरी उपरीक्षक खड्काले यस अपरेसनले स्थानीयमा सुरक्षा अनुभूति बढाउने, डरत्रास हटाउने र जात्राको सफल आयोजना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
