काठमाडौं । सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई क्रमशः विद्युतीय (EV) गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउने र वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो नीति अघि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्ति र उपलब्धतामा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
प्रवक्ता पोखरेलले जानकारी दिँदै पछिल्लो समय पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति प्रभावित भएको र त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको बताए। यही परिस्थितिलाई ध्यानमा राख्दै सरकारले दीर्घकालीन रूपमा इन्धनमा निर्भरता घटाउने रणनीति अघि सारेको हो।
सरकारको निर्णयअनुसार अब पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी तथा प्राविधिक आधार तयार गरिनेछ। यसका लागि आवश्यक नीति, मापदण्ड तथा नियामक व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
सरकारले यो कदमलाई ऊर्जा सुरक्षा, वातावरण संरक्षण र दिगो यातायात प्रणालीतर्फको महत्वपूर्ण परिवर्तनका रूपमा लिएको छ। साथै, निजी तथा सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय प्रणालीमा लैजाने दीर्घकालीन योजना समेत अघि सारिने अपेक्षा गरिएको छ।
