काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको औपचारिक जाहेरी नपरेपछि प्रहरीले मुद्दा अगाडि बढाउने विषयमा अन्योल देखिएको छ।
अमेरिकामा बस्ने एक युवतीले आफूलाई सागर लम्सालबाट बलात्कार भएको आरोप लगाउँदै सामाजिक सञ्जाल (फेसबुक)मा स्ट्याटस लेखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर हालसम्म पीडित पक्षबाट कुनै औपचारिक जाहेरी नआएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार संवेदनशील विषय उठेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। उनले भने, “हाल उहाँलाई होल्ड गरेर अनुसन्धान भइरहेको छ।”
जाहेरी नआएसम्म उनलाई बलात्कार मुद्दामा अघि बढाउन कठिन हुने देखिएपछि प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर थुनामा राख्ने तयारी गरेको छ।
प्रहरीका अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने कानुनी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ। अहिले सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
