काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ। उपाध्यक्ष र संसदीय समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबीच आइतबार सहमति भएको हो।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेले पाउनेछ।
त्यस्तै, संसदीय समितिहरूको बाँडफाँटमा नेपाली कांग्रेसले दुई वटा समितिको सभापति लिनेछ भने नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालले एक–एक वटा समितिको सभापति पाउनेछन्।
राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, तथा संघीयता सबलीकरण र राष्ट्रिय सरोकार गरी विभिन्न समिति रहेका छन्।
त्यसैगरी, दुई वटा संयुक्त समिति पनि रहने व्यवस्था छ, जसमा प्रतिनिधि सभाका सदस्यहरू समेत सहभागी हुनेछन्।
