काठमाडौँ, चैत २२ । राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने विषय प्रमुख रूपमा उठाइएको छ।
बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे। सोही दलकी गीता देवकोटाले किसानमैत्री नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् भने चन्द्रबहादुर केसीले देशको आर्थिक विकासलाई सरकारको मूल प्राथमिकता बनाउनुपर्ने धारणा राखे।
बैठकको शून्य समयमा सांसदहरूले पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको र त्यसले विशेषगरी सीमान्तकृत वर्गलाई असर पारेको विषय उठाएका थिए।
उदयबहादुर बोहोराले पश्चिम एसियाली देशहरूमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार गर्न सरकारसँग आग्रह गरे। साथै जयन्तीदेवी राई, मोहम्मद खालिद, राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले उक्त द्वन्द्वको नेपालसहित विश्वव्यापी प्रभावबारे सदनको ध्यानाकर्षण गराए।
यसैगरी, भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिनको माग गरे भने शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा राखे।
शून्य समयमा मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि विभिन्न समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।
