काठमाडौं । शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरू खारेज गर्ने भनिएको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त निर्णय पञ्चायतकालीन निरंकुश शासनको झल्को दिने भन्दै सरकारलाई सचेत गराएका हुन्।
सांसद आलेमगरले कुनै पनि राजनीतिक दलसँग संगठनहरू आबद्ध हुनु संविधान र कानुनसम्मत अधिकार भएको उल्लेख गर्दै त्यसमा प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्यविपरीत हुने तर्क गरे।
“यदि सरकार वास्तवमै लोकतान्त्रिक हो भने विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तुरुन्त खारेज हुनुपर्छ,” उनले भने।
उनले बहुदलीय व्यवस्थामा नागरिकलाई आफूअनुकूल दल र संगठन छान्ने अधिकार हुने भएकाले सरकार त्यसप्रति सचेत हुनुपर्नेमा जोड दिए।
सांसद आलेमगरको भनाइले सरकारको पछिल्लो निर्णयप्रति संसदभित्रै असन्तुष्टि बढिरहेको संकेत गरेको छ।
