काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि आइतबार उम्मेद्वारी दर्ता गरिएको छ। भावी अध्यक्षका रूपमा अन्जन श्रेष्ठ समूहबाट वस्तुगत तथा एसोसियटतर्फका उम्मेदवारहरूले उम्मेद्वारी दिएका हुन्।
महासंघको महिला सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराएकी सुनिता नेमाफुकीले संघ–संस्थाहरूमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले आफूले उम्मेद्वारी दिएको बताइन्।
उनले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार महिला उद्यमशीलता लामो समयसम्म साना व्यवसायमा मात्र सीमित बुझाइ थियो, तर अहिले महिलाहरू सीईओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागी हुन थालेका छन्।
नेमाफुकीले यस बढ्दो सहभागितालाई संस्थागत रूपमा मजबुत बनाउन महासंघजस्ता छाता संगठनहरूमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन्।
यसैगरी, वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले पनि महिलासम्बन्धी स्पष्ट एजेन्डासहित आफूहरू चुनावी मैदानमा उत्रिएको बताए।
महासंघको आगामी नेतृत्व चयन प्रक्रियाले निजी क्षेत्रको नीति, प्रतिनिधित्व र समावेशीतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अहिले चासो बढेको छ।
