काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कुनै दबाब र प्रभावमा नपरी निडर रूपमा काम गर्न सुझाव दिएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले विगतमा राजनीतिक हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको उल्लेख गरे। उनले अहिलेको अवस्थामा त्यस्तो हस्तक्षेप दोहोरिन नहुनेमा जोड दिए।
मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न गृहमन्त्री गुरुङले पछिल्ला दिनमा चालेका कदमहरू सकारात्मक रहेको भन्दै पुनले त्यसलाई निरन्तरता दिन आग्रह गरे।
“गृहमन्त्रीले अब कसैको पनि दबाबमा पर्नु हुँदैन, राम्रो काम गर्नुपर्छ,” उनले भने, “अपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ।”
पुनले गृहमन्त्रीलाई आफ्नो अभियानमा विचलित नहुन र जनअपेक्षा अनुसार परिणाम दिन पनि प्रोत्साहन गरेका छन्।
संसदमा आफू प्रतिपक्षी भूमिकामा रहेको स्पष्ट पार्दै उनले कुनै पनि राजनीतिक स्वार्थमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे। देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा समर्थन रहने र गलत कार्यको सधैँ विरोध गर्ने उनको भनाइ छ।
