काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को शनिबारका लागि तय गरिएको बोर्ड बैठक स्थगित भएको छ। उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित आठ जना बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए। तर हालसम्म उक्त विवरण उपलब्ध नगराइएको भन्दै उनीहरूले शनिबारको बैठक बहिष्कार गरेका हुन्।
ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमा रोशन सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट रहेका छन्।
शनिबार बस्ने भनिएको बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम तथा अडिट रिपोर्टजस्ता महत्वपूर्ण एजेन्डा समावेश थिए। तर आवश्यक सदस्यहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन।
क्यान अध्यक्ष चन्दका अनुसार सबै सदस्यको उपस्थिति सुनिश्चित गर्न बैठक सोमबारका लागि सारिएको हो। “केही साथीहरू बाहिर हुनुहुन्थ्यो, अनौपचारिक रूपमा छलफल भने भयो। सबैको सहभागिता होस् भन्ने उद्देश्यले सोमबारका लागि बैठक बोलाएका हौं,” उनले बताएका छन्।
एनपीएल खर्च विवरणलाई लिएर क्यानभित्र देखिएको विवादले संस्थागत पारदर्शिता र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। अब सोमबार बस्ने बैठकले यस विवादलाई कसरी समाधान गर्छ भन्ने चासो बढेको छ।
