काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई अझ तीव्र र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सरकार कानुन निर्माण प्रक्रियालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी हुन्।
मन्त्री गौतमले संघीय संसदलाई केवल औपचारिक थलो नभई जनताका समस्या समाधान गर्ने प्रभावकारी संस्था बनाउनुपर्नेमा जोड दिइन्। उनका अनुसार संसदलाई काम गर्ने थलोका रूपमा स्थापित गर्न सरकार र सांसद दुवैको साझा जिम्मेवारी हुन्छ।
उनले सरकारलाई जबाफदेही बनाउन संसद्को भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विधेयक छलफल र पारित प्रक्रियामा ढिलाइ गर्ने छुट अब नरहेको स्पष्ट पारिन्।
मन्त्री गौतमका अनुसार जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने कानुनहरू समयमै निर्माण हुन नसके त्यसको असर समग्र शासन प्रणालीमा पर्छ। त्यसैले कानुन निर्माणलाई छिटो, व्यवस्थित र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताइन्।
उनले संघीय संसदलाई जनअपेक्षा पूरा गर्ने प्रमुख लोकतान्त्रिक संस्था बनाउने लक्ष्यसहित सबै दल र सांसदहरूको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिन्।
संसद बैठकमा उनले विधायन प्रक्रियामा सुधार, नीति निर्माणमा गति, र कार्यान्वयनमा प्रभावकारिता बढाउनेतर्फ सरकार केन्द्रित रहेको संकेत दिएकी छिन्।
