काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रु ७३ लाख ७० हजार ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४७ वर्षीय तिलक परियार रहेका छन्।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरूले विभिन्न देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो रकम असुली गरेका थिए।
अनुसन्धानअनुसार कर्णबहादुर राउतले फिनल्यान्ड पठाउने भन्दै ५७ लाख रुपैयाँ, आनन्द थापाले माल्टा पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ, राधिका पाठक पौडेलले फिनल्यान्ड पठाउने भन्दै ४ लाख २० हजार रुपैयाँ तथा तिलक परियारले सर्बिया पठाउने भन्दै ८ लाख रुपैयाँ लिएको खुलेको छ।
पीडितहरूले समयमै विदेश पठाउने आश्वासन पाए पनि लामो समयसम्म नपठाइएपछि ठगी भएको आशंकासहित उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै चारै जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।
हाल उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा वैदेशिक रोजगारसम्बन्धी कानुनी प्रावधानअनुसार अनुसन्धान भइरहेको छ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई वैधानिक प्रक्रिया र इजाजतप्राप्त मेनपावरमार्फत मात्र विदेश जान आग्रह गरेको छ।
