पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेखनीय रूपमा बढेको छ । यस अवधिमा रु १ अर्ब ४८ करोड ६४ लाख मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् भने तीबाट रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड १ लाख मूल्यका १६५ वटा यस्ता सवारी आयात हुँदा रु ३५ करोड ५० लाख राजस्व उठेको थियो ।
वीरगन्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण आयातमा ठूलो वृद्धि भएको हो ।
त्यस्तै, चालु आवमा रु ८० करोड ५७ लाख मूल्यका १,१२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा रु ४४ करोड ३ लाख मूल्यका ३,३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
इन्धनबाट चल्ने सवारीसाधनतर्फ भने चालु आवमा रु १ अर्ब १६ करोड १३ लाख मूल्यका ६०९ वटा जिप, कार र भ्यान आयात भई रु २ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा सोही अवधिमा रु १ अर्ब ५० करोड मूल्यका ७४८ वटा यस्ता सवारी आयात हुँदा रु ३ अर्ब ७३ करोड राजस्व उठेको थियो ।
समग्रमा, चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्, जुन अघिल्लो वर्षको रु १७ अर्ब १५ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो ।
