चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
अभियानअन्तर्गत माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा ४ हजार २०४ जनालाई खोप लगाइने तयारी गरिएको छ।
निर्मल घिमिरेका अनुसार अभियान चैत ३० गतेसम्म सञ्चालन हुनेछ। उनका अनुसार खोप नलगाएका ३० वर्षसम्मका व्यक्तिहरू तथा खोप छुटेका १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी खोप दिइनेछ।
यसैबीच, किट नियन्त्रण कार्यक्रमका अनुसार सन् २०२४ मा चितवनमा जापानिज इन्सेफलाइटिसका कारण एक जनाको मृत्यु भएको थियो भने चार जना संक्रमित भएका थिए। सन् २०२५ मा १६ जना संक्रमित हुँदा पाँच जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, साँझ–बिहान बढी सक्रिय हुने र पशुपन्छीलाई टोक्दा संक्रमण फैलाउने गर्दछ।
विशेषज्ञका अनुसार सुँगुर, बंगुर र हाँसजस्ता पशुपन्छी यस रोगका प्रमुख वाहक हुन सक्छन्। साथै, धानखेतमा पानी जम्ने भएकाले त्यहाँ लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गर्ने वातावरण बन्ने बताइएको छ।
स्वास्थ्यकर्मीहरूले समयमै खोप लगाउन र लामखुट्टेको नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्।
