प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ। ऐरावती–१ छेडाघाटमा गएराति भएको आगलागीबाट ८ वटा घर र १४ वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
अमर रेश्मी मगरका अनुसार स्थानीय ओमबहादुर रेश्मी मगर, मीनबहादुर रेश्मी मगर, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, धनबहादुर राना र डिला रजाली लगायतका परिवारका घरगोठ जलेर नष्ट भएका हुन्।
आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा पशुधन र सम्पत्ति नष्ट भएको छ। करिब १०८ वटा बाख्रा, ७ वटा गोरु र १ वटा बंगुरसहित १२० भन्दा बढी पशुचौपाया मरेका छन्। आगो नियन्त्रणमा लिने क्रममा एक जना सामान्य घाइते भएका छन्।
स्थानीयका अनुसार राति करिब ११:३० बजे खाली गोठबाट सुरु भएको आगो केही क्षणमै फैलिँदै बस्तीमा पुगेको थियो। त्यसपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।
हाल घरगोठ गुमाएका परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
