तनहुँ । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको निर्माण कार्य तत्काल सुरु गर्न निर्देशन दिइएको छ।
सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गर्दै काम अघि बढाउन औपचारिक निर्देशन दिएको हो।
घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएपछि चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीले लिने गरी प्रक्रिया अघि बढाइएको छ। तेस्रो पक्षको विज्ञबाट डिजाइन र स्पेसिफिकेसन जाँच भइसकेकाले अब निर्माण कार्य अगाडि बढाउन निर्देशन दिइएको कार्यालय प्रमुख राजीव श्रेष्ठले बताए।
यस पुल निर्माण नहुँदा यस क्षेत्रका स्थानीयले वर्षौंदेखि ठूलो सास्ती भोग्दै आएका छन्। पटक–पटक जनप्रतिनिधि, मन्त्री तथा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइए पनि काम अघि बढ्न सकेको थिएन।
पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त थापामगरका अनुसार १२ वर्षअघि सम्झौता भए पनि हालसम्म काम अत्यन्त सुस्त गतिमा अघि बढेको छ। मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग २०७० असारमा पहिलोपटक सम्झौता गरिएको थियो। त्यसपछि पटक–पटक म्याद थप र डिजाइन परिवर्तन हुँदै आएको छ।
२०७५ माघमा पुनः सम्झौता भए पनि २०७८ साल चैतसम्म काम सम्पन्न हुनुपर्ने थियो। तर हालसम्म करिब ३६ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ। पछिल्लो म्याद थप अनुसार २०८३ असार मसान्तसम्म काम सक्ने लक्ष्य राखिएको छ।
यो घुमाउने पुल निर्माण पूरा भएपछि गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको आवतजावत दूरी करिब २३ किलोमिटरले छोटिनेछ। साथै बुद्धसिंह मोटरमार्गमार्फत यात्रा अझ सहज हुने अपेक्षा गरिएको छ।
पुल १०५ मिटर लामो र फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ भने प्रारम्भिक लागत करिब ९ करोड ५६ लाख रुपैयाँ रहेको थियो।
स्थानीयवासीहरूले लामो समयदेखि अलपत्र परियोजना तत्काल सम्पन्न गर्न सरकार र निर्माण कम्पनीलाई दबाब दिँदै आएका छन्।
