काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत २२) सुनुवाइ हुँदै छ।
यसअघि अदालतले जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षी पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।
पक्राउपछि ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
त्यस्तै, लेखकलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यशोदाले सर्वोच्च अदालतमा छुट्टै रिट निवेदन दायर गरेकी हुन्।
उक्त रिटमाथिको सुनुवाइले दुवै नेताको थुनाबारे कानुनी अवस्थाको टुंगो लगाउने अपेक्षा गरिएको छ।
