विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित रंगेली–कानेपोखरी सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक साइकल यात्रीको शनिबार साँझ मृत्यु भएको छ।
प्रहरीका अनुसार रंगेलीबाट रमाइलोतर्फ जाँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका साइकललाई दिउँसो करिब ४:३० बजे ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा कानेपोखरी–५ निवासी करिब ६० वर्षीय नरेश काफ्ले गम्भीर घाइते भएका थिए। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पठाइएको थियो। अस्पताल पुर्याएलगत्तै साँझ करिब ६:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–५ का करिब ३० वर्षीय अभिषेक कार्की पनि घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।
प्रहरीले मोटरसाइकल र साइकल दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ।
