काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार सानुभाइलाई गएराति सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले शुक्रबार रातिदेखि काठमाडौँमा गुण्डागर्दी नियन्त्रण गर्न विशेष अपरेशन सञ्चालन गर्दै आएको छ। सोही क्रममा थप १७ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन्।
सानुभाइ कुख्यात गुण्डा कुमार श्रेष्ठका सहयोगी मानिन्छन्। ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताइन्छ। हाल पक्राउ परेका गुरुङको यो आठौँ पटकको गिरफ्तारी हो।
प्रहरीका अनुसार उनी अहिले जेलमा रहेका समिरमान सिंह बस्नेतनिकट मानिन्छन्।
यसअघि २०७२ सालमा नुवाकोटमा हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटसहित भेटिएका थिए। सोही वर्ष पुस महिनामा उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिएको थियो।
प्रहरीले पछिल्लो अपरेशनलाई काठमाडौँमा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रयासका रूपमा लिएको जनाएको छ।
