संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछन्। प्रतिनिधिसभाको बैठकले डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन तथा प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ।
अर्याल यसअघि शुक्रबार नै निर्विरोध रूपमा सभामुखमा निर्वाचित भइसकेका छन्। सिंहदरबारस्थित नयाँ संसद भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।
उनको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजे बस्नेछ। बैठकमा विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने, साथै अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम तोक्ने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ।
