काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश ले उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश माथि ३९ रनको जित निकालेको छ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदान मा भएको खेलमा अर्जुन कुमाल को शतक निर्णायक बन्यो। उनले १४१ बलमा १०२ रनको शानदार इनिङ खेले र ‘म्यान अफ दी म्याच’ घोषित भए। जारी प्रतियोगितामा उनी सर्वाधिक ३४६ रन बनाउने खेलाडीसमेत बनेका छन्।
पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। सुरुवाती अवस्थामा ६० रनमै ६ विकेट गुमाएर दबाबमा परेको गण्डकीलाई अर्जुन र कप्तान विपिन खत्री बीचको १६७ रनको साझेदारीले उकासेको थियो। विपिनले ८६ बलमा ७६ रन बनाउँदै महत्वपूर्ण साथ दिए।
जवाफमा २२८ रनको लक्ष्य पछ्याएको कोशीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। दीपेश कँडेल ले अविजित ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
गण्डकीका बलरमध्ये सिबरिन श्रेष्ठ ले ३ विकेट लिँदा अपराजित पौडेल र सुवास भण्डारी ले समान २–२ विकेट लिए।
यस जितसँगै गण्डकीले प्रतियोगितामा ५ अंक जोडेको छ भने कोशीले छैटौँ खेलसम्म जित निकाल्न सकेको छैन।
यसैबीच, अर्जुन कुमालले प्रधानमन्त्री कपको इतिहासमा २५ खेलमै १ हजार रन पूरा गर्दै कीर्तिमान कायम गरेका छन्।
