काठमाडौं । नेपाली कांग्रेस ले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीलाई तीव्र बनाइएको हो।
महाधिवेशन तयारीलाई केन्द्रमा राख्दै ‘जरा अभियान’ सञ्चालन गरिएको प्रदीप पौडेल ले जानकारी दिए। अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जरा अभियानमार्फत सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे।
उनका अनुसार पार्टीले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएर ती विषयहरूमा अन्तरक्रिया तथा संवाद सञ्चालन गरिसकेको छ। प्रतिनिधिहरूलाई अभियानसम्बन्धी जानकारी गराउनुका साथै जिल्लामा गर्ने कार्यको स्पष्ट जिम्मेवारी तोकिएको छ।
महामन्त्री पौडेलले वैशाख महिनाभर खटिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा सदस्यता वितरण अभियान व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरणलाई विधानअनुसार कार्यान्वयन गर्ने बताए। साथै अन्य तोकिएका जिम्मेवारीहरू पनि पूरा गर्न निर्देशन दिइएको उनले जानकारी दिए।
यसअघि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६–१९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो। सोही कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने योजना अघि बढाइएको छ।
