सिन्धुपाल्चोक । जबरजस्ती करणी जस्तो गम्भीर अपराधको मुद्दालाई पैसाको प्रलोभन र डर–धम्की देखाएर मिलापत्र गराउन खोज्ने ७ जना बिचौलियाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले विशेष सूचनाको आधारमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका–२ का श्रीकाजी दोङ (४५), माइला दोङ (५०), सुशील दोङ (२४), मिकमार दोङ (४२), विशाल दोङ (३१), नेत्र दोङ (३२) र ङेमा छिरिङ लामा (५२) रहेका छन्।
प्रहरीका अनुसार २०८२ चैत १६ गते दर्ता भएको जबरजस्ती करणी मुद्दाका प्रतिवादीसँग मिलेर यी बिचौलियाहरूले पीडित र उनीहरूको परिवारलाई मुद्दा फिर्ता लिन तथा मिलापत्र गर्न दबाब दिइरहेका थिए। कानुनविपरीत आर्थिक लेनदेन भइरहेको अवस्थामा प्रहरीले छापा मारेको जनाएको छ।
सो क्रममा ५ लाख १६ हजार ९३२ रुपैयाँ नगद, विभिन्न बैंकका २ लाख ३५ हजार रुपैयाँ बराबरका चेक तथा ७ थान मोबाइल फोन बरामद गरिएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा २२७ (क) अनुसार जबरजस्ती करणी जस्ता जघन्य अपराधमा मिलापत्र गराउनु वा गराउन खोज्नु आफैँमा दण्डनीय कसुर हो।
घटनामा संलग्न सबैलाई सिन्धुपाल्चोक जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले यस्ता गम्भीर मुद्दामा कुनै पनि बहानामा मिलापत्र गर्न नमिल्ने भन्दै संलग्न जोसुकैलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
