काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स ले लगातार दोस्रो जित हासिल गर्दै चेन्नई सुपर किंग्स लाई पाँच विकेटले हराएको छ।
खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। टोलीका लागि आयुश मात्रे ले ४३ बलमा ७३ रन र शिवम दुबे ले २७ बलमा ४५ रन बनाएका थिए। त्यस्तै सर्फराज खान ले १२ बलमा ३२ रनको योगदान दिए।
जवाफमा पञ्जाबले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित दर्ता गर्यो। कप्तान श्रेयस अथ्यर ले २९ बलमा ५० रन बनाउँदै टोलीको जित सुनिश्चित गरे भने प्रभसिम्रन सिंह ले ३४ बलमा ४३ रन बनाए। प्रियांश आर्य ले ११ बलमा ३९ रन खेल्दै महत्वपूर्ण योगदान दिए।
यस जितसँगै पञ्जाब ४ अंकसहित शतप्रतिशत नतिजामा शीर्ष स्थानमा पुगेको छ, जबकि लगातार दुई हार भोग्दै चेन्नई पुछारमा रहेको छ।
आज आईपीएलमा दुई खेल निर्धारित छन्। दिउँसो ३ः४५ बजे दिल्लीमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन् भने बेलुकी ७ः४५ बजे अहमदाबादमा गुजरात टाइटान्स र राजस्थान रोयल्स बीच खेल हुनेछ।
प्रारम्भिक खेलमा राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलुरू, दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स ले जित हासिल गरेका छन्। सनराइजर्स हैदराबाद ले दुई खेलमा एक खेल मात्र जितेको छ।
