काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट पार्टी पुनर्गठनका लागि संयोजन समितिको बैठकमा आगामी कार्य योजनासहितको प्रस्ताव अघि सारेका छन्।
प्रचण्डले पार्टीलाई तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक काममा ठोस कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ। पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नका लागि उहाँले १० बुँदे प्रस्ताव राखेका छन्।
मुख्य प्रस्तावहरू यस प्रकार छन्:
क. सङ्गठन समायोजन र निर्माण:
पार्टी सङ्गठन र सम्बद्ध जनवर्गीय सङ्गठनलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्न आवश्यक छ। एक महिनाभित्र पालिका तहसम्मका सबै सङ्गठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ सङ्गठन निर्माण गर्ने। तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।
ख. पार्टी सदस्यता नवीकरण र अधिवेशन:
अबको तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने।
ग. एकता महाधिवेशन:
छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने।
घ. नेतृत्वको पुनर्गठन र रूपान्तरण:
सङ्गठन मात्र होइन नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न आवश्यक छ। यसको लागि ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्ने।
ङ. प्रशिक्षण अभियान:
सङ्गठन समायोजन र पुनर्गठनसँगै सैद्धान्तिक र वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्ने। व्यवस्थित पाठ्यक्रमसहित सघन प्रशिक्षण अभियान हुनेछ।
च. आर्थिक कोश निर्माण अभियान:
पार्टीलाई आर्थिक रूपमा सबल बनाउन आर्थिक कोश निर्माण अभियान सञ्चालन गर्ने।
छ. प्रभावकारी रचनात्मक प्रतिपक्ष:
संसद्मा प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै राष्ट्र र जनसरोकारका विषयमा प्रभावकारी प्रस्तुति दिने।
ज. प्रदेश र स्थानीय तह परिचालन:
प्रदेश र स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधीहरूलाई अझ बढी जनपक्षीय काममा परिचालन गर्ने।
झ. प्राविधिक क्षमता विकास:
पार्टीका नेता र कार्यकर्ताको प्राविधिक क्षमता विकासका लागि अभियान चलाउने।
ञ. कार्यशैली र आचरण सुधार:
पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि ठोस योजना बनाउने।
यस १० बुँदे कार्ययोजनाले पार्टीको साङ्गठनिक, वैचारिक र आर्थिक सबलता सुनिश्चित गर्दै आगामी कार्यकालमा प्रभावकारी पुनर्गठन र रूपान्तरणको बाटो तय गर्ने लक्ष्य राखेको छ।
