काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ले नवनिर्वाचित डिपी अर्याल लाई सभामुख पदमा बधाई दिँदै सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने निर्णय अब सभामुखको हातमा रहेको बताएका छन्।
डा. भट्टराईका अनुसार, सभामुखसँग संसद सञ्चालन गर्दा थुप्रै स्वविवेकीय अधिकार हुने भएकाले यस संस्थालाई लोकतान्त्रिक अभ्यासको उदाहरण बनाउन अथवा कर्मकाण्डमा सीमित राख्न सक्ने क्षमता अर्यालको हातमा रहेको छ। उनले यो कुरा नेपालभित्र मात्र नभई विश्वभर देखिने भएको उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्रीले हसमुख र मृदुभाषी स्वभावका धनी अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ट कालखण्डमा गठित प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार सभामुखमा अर्यालको मात्र मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका थिए भने आइतबार प्रतिनिधि सभाले औपचारिक रूपमा उनको निर्वाचित पुष्टि गर्ने छ। त्यस्तै आइतबार नै अर्यालले सभामुखको शपथ ग्रहण कार्यक्रम तय भइसकेको छ।
