काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बल क्लब (एपिएफ) ले कर्णाली प्रदेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गरेको छ।
जनकपुरमा सम्पन्न खेलमा कर्णालीले दिएको १०८ रनको लक्ष्य एपिएफले मात्र १२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। टोलीका लागि दीपक बोहोर ले अविजित ४२ रन बनाउँदै खेललाई मजबूत बनाएका थिए भने आसिफ शेख ले अविजित ६५ रनको आक्रामक पारी खेले।
पहिले ब्याटिङ गरेको कर्णाली ३६ ओभरमै अलआउट हुँदै १०७ रनमा सीमित भयो। कर्णालीका अर्जुन घर्ती ले अविजित ३८ रन र दीपेन्द्र रावत ले २५ रनको योगदान दिए। अन्य ब्याट्सम्यान अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली सस्तो स्कोरमै अलमल्यायो।
एपिएफका बलरमध्ये कमल ऐरी र अभिषेक गौतम चम्किए। दुवैले समान ४–४ विकेट लिएर कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यस जितसँगै एपिएफले पछिल्ला पाँच खेलपछि पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। कर्णाली प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ। जारी सिजनमा ६ खेल खेलेको एपिएफले ५ अंक जोडेको छ।
