काठमाडौं । इरान ले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम (सीजफायर) प्रस्ताव अस्वीकार गरेको छ। अर्ध-सरकारी फार्स समाचार एजेन्सी का अनुसार प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको भए पनि इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ।
यसैबीच, इरानले शुक्रबार अमेरिकी दुई लडाकु विमान खसालेको दाबी गरेको छ। तीमध्ये एक एफ–१५ई फाइटर जेट र अर्को ए–१० आक्रमणकारी विमान रहेको जनाइएको छ। एफ–१५ई विमान इरानभित्रै आक्रमणमा परेको बताइएको छ, जसमा एक क्रु सदस्य उद्धार भए पनि अर्का सदस्य अझै बेपत्ता छन्।
इरानी सञ्चारमाध्यमका अनुसार ए–१० विमान पर्सियन गल्फ क्षेत्रमा खसेको हो। यद्यपि, अमेरिकी अधिकारीहरूले उक्त विमान दुर्घटनाग्रस्त भएको कि खसालिएको भन्ने विषयमा स्पष्ट जानकारी दिएको छैन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानी आक्रमणमा दुई वटा ब्ल्याक हक हेलिकप्टर पनि क्षतिग्रस्त भएका छन्। ती हेलिकप्टर एफ–१५ई का बेपत्ता पाइलटको खोजी तथा उद्धारका लागि परिचालन गरिएको थियो।
करिब पाँच हप्तादेखि जारी संघर्षमा अमेरिकी विमान खसालिएको यो पहिलो घटना हो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यी घटनाले इरानसँग हुने सम्भावित वार्तामा असर नपर्ने बताएका छन्।
