काठमाडौं । अर्थ मन्त्रालय ले वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ७५ वर्ष पुर्याउने विषयमा सामाजिक सञ्जाल र मिडियामा चलेका हल्ला पूर्ण रूपमा निराधार रहेको स्पष्ट गरेको छ।
हालै विभिन्न माध्यममा सरकारले वृद्ध भत्ता पाउने उमेर वृद्धि गर्ने निर्णय गरेको भन्ने चर्चा चलेपछि मन्त्रालयले औपचारिक रूपमा त्यसको खण्डन गरेको हो। मन्त्रालयले जारी गरेको वक्तव्यमा यस्तो कुनै निर्णय नभएको मात्र होइन, यस विषयमा मन्त्रालय वा मन्त्रीस्तरमा कुनै छलफलसमेत नभएको उल्लेख गरिएको छ।
मन्त्रालयले भनेको छ— “वृद्ध भत्ता पाउने उमेर सम्बन्धी टीका–टिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।”
हाल ७० वर्ष उमेर पुगेका नागरिकहरूले मासिक ४ हजार रुपैयाँका दरले वृद्ध भत्ता प्राप्त गर्दै आएका छन्। सरकारले सामाजिक सुरक्षा भत्तासम्बन्धी नीतिमा कुनै परिवर्तन नगरेको मन्त्रालयले स्पष्ट पारेको छ।
