काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो ‘एनिमल पास’ (ओभरपास) निर्माण भइरहेको छ। विशेषगरी जंगली हात्तीको सुरक्षित आवागमन सुनिश्चित गर्न झापाको चारआली क्षेत्रमा यो संरचना निर्माण थालिएको हो।
एशियाली विकास बैंक को ऋण सहयोगमा अघि बढाइएको यस परियोजनाअन्तर्गत हात्तीका लागि छुट्टै मार्गसहितको ओभरपास निर्माण भइरहेको छ। काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतका अनुसार भारतबाट नेपालतर्फ आउने जंगली हात्तीहरूको नियमित आवागमन हुने रुट पहिचान गरी सोही स्थानमा ओभरपास निर्माण थालिएको हो।
एशियाली मापदण्डअनुसार सडक विस्तारसँगै जैविक विविधता संरक्षणलाई ध्यानमा राख्दै वन्यजन्तुको सुरक्षित आवतजावतका लागि यस्तो संरचना बनाइएको हो। बायोडाइभर्सिटी अध्ययनले पनि उक्त क्षेत्र हात्तीको आवागमनका लागि उपयुक्त देखाएको इन्जिनियर महतले बताए।
भारतबाट आउने जंगली हात्तीका कारण सवारी आवागमनमा हुने अवरोध न्यूनीकरण गर्ने उद्देश्यले ओभरपास निर्माणलाई प्राथमिकता दिइएको हो। निर्माणाधीन संरचना अन्तर्गत १५ मिटर चौडाइ र ६.५ मिटर उचाइका दुई वटा पुल बनाइँदै छन्।
यससँगै हात्तीहरूको गतिविधि निगरानी गर्न सूक्ष्म क्यामेरा समेत जडान गरिने योजना रहेको छ। परियोजना सम्पन्न भएपछि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका साथै सडक सुरक्षामा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
