काठमाडौँ — नेपाली कांग्रेस ले १५औं महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै आजदेखि देशभर क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक प्रक्रिया सुरु गरेको छ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सुरु गरिएको यस अभियानमार्फत पार्टीले संगठनात्मक संरचना सुदृढ बनाउने लक्ष्य राखेको छ। महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले तयारीलाई तीव्र बनाएको हो।
पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएर क्रियाशील सदस्यता फाराम वडा तहसम्म पुर्याउने योजना बनाएको छ। यसका लागि काठमाडौँको सानेपा मा आज प्रतिनिधिहरूलाई ‘ओरिएन्टेसन’ दिइने कार्यक्रम तय गरिएको छ।
निर्धारित कार्यतालिकाअनुसार वैशाख महिनाभर सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन हुनेछ। त्यसपछि वडा तहबाट सुरु भएको प्रक्रिया क्रमशः क्षेत्र हुँदै केन्द्रीय तहसम्म पुग्नेछ।
सदस्यता अद्यावधिक र छानबिन प्रक्रिया पूरा गरी असार मसान्तसम्म अन्तिम नामावली तयार गर्ने लक्ष्य पार्टीले लिएको छ।
कांग्रेसले आगामी असोजमा १५औं महाधिवेशन सम्पन्न गर्ने तयारी गर्दै संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
