नेपाली सेनाले अवकाश प्राप्त करिब ९० हजार सैनिकहरूबीच पुनर्मिलन गराउने उद्देश्यसहित २०७० सालदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। “एक पटकको सिपाही, जीवनभर सिपाही” भन्ने मूल मान्यतालाई आत्मसात गर्दै सेनाले अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य र समग्र कल्याणमा निरन्तर काम गर्दै आएको छ।
सैनिक कल्याणकारी कोषमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई प्रत्येक प्रधान सेनापतिको कार्यकालमा एक पटक आयोजना गरिन्छ। सम्मेलनलाई अझ वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी तीन वर्षभित्र देशभर सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
यस वर्षको सम्मेलनको मूल नारा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण– पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ तय गरिएको छ। सम्मेलनले अवकाशपछिको जीवनमा ऊर्जा थप्ने, पूर्व सैनिकहरूबीच अनुभव आदान–प्रदान गर्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, यस कार्यक्रममार्फत नेपाली सेनाले सञ्चालन गरेका विभिन्न कल्याणकारी योजनाबारे जानकारी गराउने, सुझाव संकलन गर्ने तथा सेवाहरूलाई अझ प्रभावकारी बनाउने प्रयास हुँदै आएको छ।
भूपू सैनिक सम्मेलन पूर्व सैनिकहरूको सेवा र समर्पणप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण माध्यमसमेत हो। यसले समाजमा छरिएर रहेका पूर्व सैनिक तथा उनीहरूको परिवारबीच आपसी सम्बन्ध, भाइचारा र अपनत्व बढाउने काम गर्दै आएको छ।
त्यसैगरी, सम्मेलनमार्फत शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार र आवासजस्ता आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रमहरू अघि बढाइँदै आएका छन्। विशेष गरी एकल महिलाहरू र आश्रित परिवारहरूको जीवनस्तर सुधारमा यसको महत्वपूर्ण योगदान रहेको छ।
यस वर्ष लुम्बिनी, गण्डकी, मधेस र बागमती प्रदेशका करिब ३३ हजार भूपू सैनिकहरूको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रम चैत महिनाको तेस्रो र चौथो सातासहित वैशाखको पहिलो सातामा चार चरणमा सञ्चालन गरिनेछ।
सम्मेलन रूपन्देही, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्व–पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी, कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ, सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीसहित ३४ जिल्लामा चैत २२ देखि वैशाख ४ गतेसम्म आयोजना हुनेछ।
भूपू सैनिक सम्मेलनले हिताधिकारीहरूको आत्मीयता, भरोसा र विश्वास बढाउनुका साथै उनीहरूको आत्मसम्मान र प्रतिष्ठामा समेत वृद्धि भएको देखिएको छ।
यस्ता कार्यक्रममार्फत नेतृत्व तह स्वयं स्थानमै पुगेर हिताधिकारीहरूको समस्या, आवश्यकता र सुझाव बुझ्ने अवसर प्राप्त हुने भएकाले दीर्घकालीन समाधानका लागि ठोस निर्णय लिन मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, यसले सैनिक कल्याणकारी सेवाहरूलाई अझ परिमार्जित र प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
