काठमाडौँ । रौतहट जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिँदै अनुचित लाभ लिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा यमुनामाई गाउँपालिका–२ का सिकित नारायण, राजदेवी नगरपालिका–७ का बब्लुप्रसाद यादव, श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का रामनरेशप्रसाद पटेल र गौर नगरपालिका–८ का राजेन्द्र राउत बरै रहेका छन्।
प्रहरीका अनुसार गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं. ३ स्थित जिल्ला अदालत र वडा नं. ५ स्थित मालपोत कार्यालय क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूले सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा अनावश्यक झन्झट दिने, हैरानी गर्ने, कागजात बोकेर विभिन्न फाँटमा धाउने र त्यसबापत अनुचित रकम असुल गर्ने गरेको खुलेपछि कारबाही गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
यसैबीच, प्रहरीले जारी माध्यमिक शिक्षा परीक्षा (SEE) मा अनलाइन माध्यमबाट चिट चोरेको आरोपमा तीन जनालाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिएका छन्।
