काठमाडौँ । निरन्तर आक्रमणका बाबजुद इरानको हतियार क्षमता अझै आधाभन्दा बढी सुरक्षित रहेको दाबी गरिएको छ।
अमेरिकाका गुप्तचर निकायलाई उद्धृत गर्दै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार इरानसँग हजारौँ ड्रोन रहेका छन्, जसको झन्डै आधा हिस्सा तत्काल प्रयोगका लागि तयारी अवस्थामा रहेको उल्लेख गरिएको छ।
यो विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबी गरेसँग मेल खाँदैन। यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरानका मिसाइल तथा ड्रोन आक्रमणमा उल्लेख्य कमी आएको बताएका थिए।
प्रतिवेदनअनुसार इरानसँग अझै करिब ५० प्रतिशत मिसाइल लन्चर सुरक्षित रहेको जनाइएको छ। यद्यपि हेगसेथले ९० प्रतिशत ड्रोन क्षमता घटेको दाबी गरे पनि इरानसँग अझै आधाभन्दा बढी ड्रोनमार्फत आक्रमण गर्ने क्षमता कायम रहेको उल्लेख गरिएको छ।
यसैबीच इरानी सेनाले आफ्नो पूर्वाधारमाथि आक्रमण बढे कडा जवाफ दिने चेतावनी दिएको छ। सेनाका प्रवक्ताका अनुसार पुल, विद्युत् गृह वा ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका विरोधीका आधारस्थललाई लक्षित गरिनेछ। साथै, अमेरिकी सैन्य उपस्थिति भएका अन्य देशहरू पनि यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
