महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पशुपति वृद्धाश्रममा स्वयंसेवकका रूपमा बिताएका दिनहरू सम्झँदै आफ्नो जिम्मेवारीलाई सेवा र समर्पणको अवसरका रूपमा लिएको बताएकी छिन्।
करिब ९ वर्षअघि पुष्पलाल मेमोरियल कलेज, चाबहिलमा ब्याचलर अफ सोसल वर्क अध्ययनका क्रममा फिल्ड वर्कअन्तर्गत समाज कल्याण केन्द्र, पशुपति वृद्धाश्रममा तीन महिनासम्म सेवा गर्ने अवसर पाएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन्।
‘उहाँहरूको जीवनका कथा, पीडा, संघर्ष र निस्वार्थ मायाले आज पनि मेरो मनको गहिराइमा अमिट छाप छोडेको छ,’ मन्त्री वादीले भनिन्, ‘त्यही अनुभवले मलाई मानवताको साँचो अर्थ सिकायो—सेवा भनेको केवल कर्तव्य मात्र होइन, आत्माको सन्तुष्टि पनि हो।’
मन्त्रीको हैसियतले पुनः वृद्धाश्रम पुगेर त्यहाँको अवस्था बुझ्ने अवसर पाउँदा ती पुराना दिनहरू झल्झली सम्झना आएको उनले बताइन्। त्यतिबेला गरेको सानो सेवा आज ठूलो जिम्मेवारीमा रूपान्तरण भएको अनुभूति भइरहेको उनको भनाइ छ। ‘त्यो अनुभवले मलाई सधैं सम्झाइरहन्छ—पद ठुलो होइन, सेवा ठुलो हो,’ उनले थपिन्।
मन्त्री वादीले आफ्नो जिम्मेवारीलाई पदका रूपमा नभई सेवा र समर्पणको अवसरका रूपमा लिएको स्पष्ट पार्दै विशेषगरी आमाहरू, दिदीबहिनीहरू, बालबालिका तथा असहाय वर्गका लागि अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
‘म वाचा गर्दछु—हिजो जस्तै आज पनि सेवा, करुणा र इमानदारीका साथ अगाडि बढ्नेछु। हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो सम्पूर्ण प्रयास समर्पित गर्नेछु,’ उनले भनिन्।
साथै, वृद्धाश्रम व्यवस्थापन सुधारप्रति गम्भीर चासो व्यक्त गर्दै यसलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता समेत उनले जनाएकी छिन्।
