राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले आक्रामक अभियान सुरु गरेको छ। काठमाडौँ उपत्यकामा सक्रिय आपराधिक समूहविरुद्ध सञ्चालन गरिएको विशेष ‘क्लिनअप’ अपरेशनअन्तर्गत एकै रात १७ जनालाई पक्राउ गरिएको छ।
शुक्रबार राति ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा केन्द्रित अपरेशनमार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेकामध्ये अधिकांश काभ्रेली समूहसँग सम्बन्धित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका एसएसपी सन्तोष खड्काका अनुसार अपरेशन लक्षित रूपमा सञ्चालन गरिएको हो र आगामी दिनमा थप पक्राउ पर्ने सम्भावना रहेको छ।
पक्राउ पर्नेमा सञ्जि लामा, अशोक गिरी तथा ‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङ रहेका छन्। गुरुङ कुख्यात गुण्डा नाइके श्याम लामा समूहसँग आबद्ध रहेको खुलेको छ। मुख्य नाइके श्याम लामा भने अझै फरार रहेका छन् र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
राजधानीमा शान्ति–सुरक्षा कायम गर्न सञ्चालन गरिएको यस अभियानलाई कडा सन्देशका रूपमा हेरिएको छ। गृहमन्त्री सुदन गुरुङ पदभार सम्हालेसँगै अपराध नियन्त्रणका गतिविधि थप सक्रिय बनेका छन्।
