धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवामा गुणस्तर, पारदर्शिता र सेवाग्राहीमैत्री प्रणाली विकास गर्ने उद्देश्यसहित १३ बुँदे सुधार योजना सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा प्रतिष्ठानले यी निर्णयहरू अघि सारेको हो।
उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले प्रविधिमैत्री व्यवस्थापन, सेवा सुधार र अनुगमनलाई सुदृढ बनाउने विभिन्न कदमहरू तय गरेको जनाएको छ।
सुधार योजनाअन्तर्गत निःशुल्क शैय्या सेवाको ‘लाइभ ड्यासबोर्ड’ सार्वजनिक गर्ने, बिरामी प्रेषण प्रणालीलाई व्यवस्थित बनाउने, बायोमेट्रिक हाजिरी कडाइका साथ लागू गर्ने तथा अस्पतालको सरसफाइ र सेवा गुणस्तर अनुगमन गर्न विशेष समिति गठन गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी अस्पताल फार्मेसीमा उपलब्ध औषधिको विवरण ‘लाइभ ड्यासबोर्ड’ मार्फत सार्वजनिक गरिने, जलनका बिरामीका लागि आधारभूत उपचार निःशुल्क गर्ने, वार्ड सरसफाइको जिम्मेवारी स्पष्ट गर्ने र स्वास्थ्यकर्मीलाई ‘Serve with Smile’ तालिम प्रदान गर्ने योजना पनि अघि सारिएको छ।
सेवाग्राहीको सहजताका लागि नेपाली भाषामा नेभिगेसन सिस्टम, ज्येष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता सेवा, तथा ‘Hello BPKIHS’ डिजिटल फिडब्याक प्रणाली सञ्चालन गरिनेछ।
यस्तै, बिग्रिएका उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने योजना समेत सार्वजनिक गरिएको छ।
प्रतिष्ठानले यी सुधार योजनाले स्वास्थ्य सेवा थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।
