काठमाडौँ — परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा झा हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिनुभयो। झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार, अदालतबाट निर्णय हुन बाँकी रहेको र सजायबारे अहिले केही भन्न नसकिने अवस्था छ। हालसम्म झासँग भेट गर्न एक जना वकिल पुगेका छन् र उनी सुरक्षित हुनुहुन्छ।
यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ। उडान प्रभावित भएकाले शव ल्याउन समस्या भएको प्रवक्ता क्षेत्रीले बताए।
स्वदेश फर्किन बाँकी शवको विवरण यस प्रकार छ: रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव।
मन्त्रालयले प्रभावित नेपालीहरूको सुरक्षा, कानुनी सहायता र स्वदेश फर्काउने कार्यमा निरन्तर पहल गरिरहेको जानकारी पनि दिएको छ।
