ललितपुर — ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनका लागि आधुनिक सुविधासहित दुई विद्युतीय भ्यान सञ्चालनमा ल्याएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार भ्यानको उद्घाटन गर्नुभएको हो।
महानगरले १५ जना नगर प्रहरीलाई वातावरण संरक्षणका लागि तालिम दिँदै, भ्यानमार्फत महानगरभित्र वायु प्रदूषण, हरियाली संरक्षण, जथाभावी फोहर व्यवस्थापन, ध्वनी र दृश्य प्रदूषण नियन्त्रण, र अवैध निर्माण सामग्री व्यवस्थापनलगायत कार्यहरू गर्न सक्षम बनाएको छ। प्रमुख महर्जनले महानगरमा रोपिएका विरुवा उखेल्ने, रुखका हाँगा तोड्ने व्यक्तिहरूलाई पन्ध्र सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने स्मरण गराउनुभयो।

भ्यानमा ११३१ हटलाइन राखिएको छ, जसमा महानगरबासीले प्रदूषण वा अन्य अवान्छनीय गतिविधि देख्दा जानकारी दिन सक्नेछन्, र घटना स्थलमा तत्काल पुगेर समस्या समाधान गर्ने व्यवस्था गरिएको छ।
महानगरको वातावरण प्रहरीले प्लाष्टिक जलाउन, आगो बाल्न, धुँवा फैलाउने सवारी साधन नियन्त्रण, ध्वनी प्रदूषण रोक्न आवाजयुक्त मेसिन चलाउने, होडिङ बोर्ड र भित्ते लेखन रोक्ने, र बोटविरुवाको संरक्षणलगायत कार्यहरू नगरभित्र व्यापक रूपमा सञ्चालन गर्नेछ।
महानगरका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले भ्यानका सुविधाले वातावरण प्रहरीलाई सहयोग पुग्ने र महानगरभित्र वातावरण सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभएको छ।
